म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिको काम तीव्र पारिएको छ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोलासम्म यसअघि ठेक्काबाट हटाइएका पहिरो प्रभावित क्षेत्रमा बाँकी स्तरोन्नतिको कामलाई पूर्णता दिन लागेको हो। विभिन्न प्याकेजमा ठेक्कामार्फत पहिरो नियन्त्रण, नदी कटान रोकथाम तथा सडक ढलानको काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
“बर्खायाम र कोरला नाकामा आवतजावत गर्ने सवारीसाधनको चापका बाबजुद सडक स्तरोन्नतिको कामले निरन्तरता पाएको छ,” उनले भने, “यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको छ। बाँकी पहिरो प्रभावित क्षेत्रमा पनि ठेक्का लगाउने तयारीमा छौँ।”
आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेवकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे र बैसरी क्षेत्रमा एक किलोमिटर २०० मिटर सडक ढलान तथा विभिन्न स्थानमा दुई हजार ३०० घनमिटर ग्यावियन, प्लम र कङ्क्रिट पर्खाल निर्माणका लागि रु सात करोड ३० लाखमा शङ्करश्री–क्रियटिभ जेभीले ठेक्का पाएको छ। गत वैशाखमा सम्झौता गरेको उक्त कम्पनीले बर्खायाममा समेत निर्माणलाई निरन्तरता दिएको छ।
त्यस्तै, रु आठ करोडमा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी खण्डमा टेवा पर्खाल, कल्भर्ट निर्माण तथा सडक ढलानको काम गरिरहेको छ। भिरकाटे क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खायाम तथा सवारीसाधनको चापका कारण रोकिएको छ।
ठेक्कामार्फत एक हजार ८९० घनमिटर ग्यावियन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरी सडक संरक्षण गरिनेछ। साथै करिब दुई किलोमिटर अर्थात् चार हजार ३७१ घनमिटर सडक ढलान गरिने इन्जिनियर बैठाले जानकारी दिए।
जोखिमयुक्त तथा सवारीसाधनको आवागमन प्रभावित हुने सिरुवारी, तातोपानीलगायत स्थानमा पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको छ। यसअघि रु २५ करोडमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएका बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रको सडक स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ।
कमजोर भू–बनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति र पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख शर्माले बताए।