मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

बिहिबार, भाद्र २५ २०८३

म्याग्दी । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण गरिएको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङतर्फ निर्माणाधीन विद्युत्गृहसँग जोडिने सुरुङ बुधबार छेडिएको हो।

आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फ जोडिने २ हजार ५०६.३९ मिटर लामो सुरुङ ब्रेक थ्रु भएको हो।

खाम्लास्थित बाँधतर्फ निर्माण गर्नुपर्ने कुल ३ हजार २८३.३२ मिटर सुरुङमध्ये हालसम्म १ हजार ९७३ मिटर निर्माण सम्पन्न भएको उनले जानकारी दिए। बाँकी सुरुङ पनि केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।

आयोजनाको हालसम्म समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ। आयोजना प्रमुख केसीले आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको बताए।

आयोजनाको सिभिल ठेक्का लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले पाएको छ। २०८० चैत १९ मा सम्झौता भएको उक्त कम्पनी २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो भने मुख्य सुरुङ निर्माण २०८१ भदौदेखि सुरु गरिएको थियो।

बाँधदेखि विद्युत्गृहसम्मको काम तीव्र

आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणका साथै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई पनि तीव्र पारिएको छ।

यद्यपि, बर्खायाममा बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले अपर म्याग्दी–१ लगायतका जलविद्युत् आयोजना निर्माणमा असर पुर्‍याएको छ।

आयोजनामा सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी जुटाइनेछ। आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ।

वार्षिक ३१५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने

आयोजनाबाट उत्पादित विद्युत् भारवाङदेखि १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर रहेको छ। आउटलेटबाट पानी विद्युत्गृहमा खसाल्न ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।

ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्रालि आयोजनाको परामर्शदाता रहेको छ भने मेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामका लागि ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको छ। अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध रहेको छ।