काठमाडौं । बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स इन्क. प्रालिले सरकारलाई ७ करोड रुपैयाँ सहयोग गरेको छ।
साइमेक्स बीवाईडीको तर्फबाट उपलब्ध गराइएको उक्त रकमको चेक कम्पनीका अध्यक्ष अनिल श्रेष्ठ र निर्देशक यमुना श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
देशका विभिन्न क्षेत्रमा पछिल्लो समय आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको भन्दै कम्पनीले प्रभावित नागरिकको उद्धार, तत्कालीन राहत व्यवस्थापन तथा विस्थापित परिवारको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।
कम्पनीले विपद्का समयमा राज्यको प्रयाससँगै निजी क्षेत्रबाट पनि सहयोग र सहकार्य आवश्यक रहेको भन्दै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।
साइमेक्स बीवाईडीका अनुसार सरकारले सहयोग रकम विपद् प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन तथा उनीहरूको पुनःस्थापनामा उपयोग गर्नेछ।
निजी क्षेत्रबाट प्राप्त सहयोगले विपद्का कारण समस्यामा परेका नागरिकको राहत तथा पुनःस्थापना अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।