काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्।
उपाधि जितेपछि सुवासनाले टिम वाङ्देनलाई जसरी पनि विजेता बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताइन्। पहिलोपटक शोमा कोच बनेका वाङ्देन शेर्पाले सुवासनाको जित आफूलाई सपनाजस्तो लागेको प्रतिक्रिया दिए।
ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन तथा टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल फिनालेमा पुगेका थिए।
त्यस्तै, टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका फिनालेमा प्रतिस्पर्धी बनेका थिए।
उपाधिसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।