नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा घटे पनि बीमाशुल्क आर्जन, कुल आम्दानी तथा जीवन बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा कम्पनीले ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन १२.१० प्रतिशतले बढेर ५४ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल बीमाशुल्क आर्जन ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल आम्दानी पनि ८.८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा कुल आम्दानी ७४ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ६८ अर्ब ३० करोड ८४ लाख रुपैयाँ थियो ।
आम्दानीसँगै कम्पनीको खर्चसमेत बढेको छ । समीक्षा अवधिमा कुल खर्च १०.१२ प्रतिशतले बढेर ७० अर्ब ७६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल खर्च ६४ अर्ब २६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आम्दानीको तुलनामा खर्च वृद्धिदर बढी भएकाले कम्पनीको खुद नाफामा दबाब परेको देखिन्छ ।
कम्पनीको वित्तीय आधारतर्फ हेर्दा जीवन बीमा कोषको आकार उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कोष १७.०४ प्रतिशतले बढेर २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कोषको आकार २ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ रहेको छ। ९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १५२.०७ गुणा र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।