मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत असार मसान्तसम्म १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ थियो । यद्यपि, बैंकको खुद फी तथा कमिसन आम्दानी भने १.५० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ५४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो आवमा ५५ करोड ८१ लाख रुपैयाँ थियो ।
बैंकको कुल सञ्चालन आम्दानी ३.८९ प्रतिशतले वृद्धि भई ५ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब १९ करोड ५८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा २०.२३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा सञ्चालन मुनाफा २ अर्ब १ करोड ५० लाख रुपैयाँ थियो । बैंकको वितरणयोग्य मुनाफा भने उल्लेख्य रूपमा घटेको छ । अघिल्लो आवमा १ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा घटेर ६७ लाख ५७ हजार रुपैयाँमा झरेको छ ।
बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ । निक्षेपतर्फ पनि बैंकले वृद्धि गरेको छ । समीक्षा अवधिमा बैंकको कुल निक्षेप संकलन ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यसैगरी, बैंकको कर्जा लगानी ३.३८ प्रतिशतले बढेर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको कर्जा लगानी ९७ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।
वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १८.९८ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १९.१३ गुणा तथा प्रतिसेयर नेटवर्थ १६१.८२ रुपैयाँ रहेको छ ।