बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोल गर्दै

शुक्रबार, साउन २२ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनका लागि उक्त निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो। केन्द्रीय बैंकका अनुसार बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत आवेदन दिनुपर्नेछ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ। यसको साँवा तथा ब्याज आगामी भदौ २२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म, १० करोडले भाग जाने गरी बोल गर्न सकिनेछ। निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ।

समान ब्याजदरमा कुल निष्काशित रकमभन्दा बढी माग भएमा त्यस्तो बोलपत्रलाई प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र त्यसका लागि प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी लिइनेछ भने संकलित निक्षेपका लागि छुट्टै खाता खोली रकम जम्मा गरिनेछ। भुक्तानी मितिमा निर्धारित ब्याजसहितको निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।

यस्तो निक्षेपलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन। तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

संकलित निक्षेप रकम भुक्तानी मितिअघि सम्बन्धित बोलवालालाई फिर्ता गर्न वा प्रि–म्याच्योर भुक्तानी गर्न नपाइने व्यवस्था गरिएको छ।