मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

तिब्बती शरणार्थीलाई गैरकानुनी यात्रा अनुमतिपत्र दिएको आरोपमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

मंगलबार, साउन १९ २०८३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राहदानी कसुरसम्बन्धी मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।

सीआईबीका प्रवक्ता अनुप शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा भट्टराई पक्राउ परेका छन्। उनलाई सोमबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो।

भट्टराईविरुद्ध जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएको करिब एक सातापछि सीआईबीले पक्राउ गरेको हो। मुद्दा दायर भएपछि उहाँलाई अदालतमा उपस्थित गराई बयान तथा थुनछेक प्रक्रिया अघि बढाइनेछ।

अनुसन्धानका क्रममा काठमाडौंस्थित जर्मन दूतावासले सन् २००९ मा जारी भएका शंकास्पद यात्रा अनुमतिपत्रबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो। दूतावासले पाँच जना तिब्बती शरणार्थीका नाममा जारी भएका यात्रा अनुमतिपत्र शंकास्पद रहेको भन्दै सक्कल कागजातसमेत अनुसन्धानका लागि पठाएको थियो।

सीआईबीका अनुसार भट्टराई तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको राहदानी तथा कन्सुलर शाखामा कार्यरत रहँदा यात्रा अनुमतिपत्र जारी गर्ने प्रक्रियामा संलग्न थिए। अनुसन्धानमा वास्तविक अभिलेख तथा आवश्यक कागजातबिना तिब्बती नागरिकका नाममा यात्रा अनुमतिपत्र जारी गरिएको देखिएको प्रहरीको दाबी छ।

भट्टराईले भने यसअघि अनुसन्धानका क्रममा यात्रा अनुमतिपत्रमा गरिएको हस्ताक्षर आफ्नो नभएको र आफ्नो हस्ताक्षरको दुरुपयोग भएको हुनसक्ने बयान दिएको बताइएको छ।

यो घटना करिब १७ वर्षअघिको रहेको र त्यसबेला जारी गरिएका यात्रा अनुमतिपत्रका आधारमा तिब्बती शरणार्थीलाई जर्मनी पठाउन खोजिएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।