काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको दाबी गर्दै सम्झौता गर्नका लागि तेहरानसँग यो ‘अन्तिम मौका’ रहेको बताएका छन् ।
ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले इरानकै अनुरोधमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारको समर्थनमा वार्ता प्रक्रिया अघि बढेको दाबी गरे । उनले इरानलाई राम्रो सम्झौतामा पुग्नका लागि उपलब्ध यो अवसरलाई अन्तिम मौका भएको चेतावनी दिए ।
ट्रम्पका अनुसार वार्ता दुई चरणमा केन्द्रित छ । पहिलो चरणमा हर्मुज जलसन्धि पूर्ण रूपमा खुला गर्ने विषयमा छलफल भइरहेको र यो विषय भोलिसम्म टुङ्गिन सक्ने उनले बताए । दोस्रो चरणमा इरानको परमाणु क्षमतासम्बन्धी विषयमा छलफल हुने उनको भनाइ छ ।
इरानको परमाणु क्षमता अन्त्य हुनुपर्नेमा जोड दिँदै ट्रम्पले त्यसका लागि केही समय लाग्न सक्ने बताए । यसअघि सामाजिक सञ्जालमार्फत इरानी नेतृत्वको आलोचना गर्दै उनले तेहरानले ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाए । उनका अनुसार इरानले एकातर्फ वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ सार्वजनिक रूपमा अमेरिकासँग कुनै संवाद नभएको दाबी गरेर भ्रम सिर्जना गरिरहेको छ ।
तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको कुरा अस्वीकार गरेका छन् । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उनले इरान हर्मुज जलसन्धिको विषयमा ओमानसँग मात्र वार्तामा रहेको स्पष्ट पारे ।
इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति र इरानको खण्डनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै पक्षका फरक दाबीले सम्भावित वार्ताको वास्तविक अवस्था अझै अस्पष्ट देखिएको छ ।