मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

होर्मुज जलसन्धिमा जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमाथि फेरि सैन्य कारबाही

आइतबार, असार २८ २०८३

 काठमाडौं । होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकाले शनिबार इरानमाथि यसै साताको तेस्रो चरणको सैन्य हमला गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो।

सेन्टकमका अनुसार व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गर्दै उसलाई समझदारी ज्ञापनपत्र पालना गर्ने अवसर दिइएको थियो। तर इरान पुनः त्यसमा असफल भएपछि नागरिक तथा व्यावसायिक जहाजहरूमाथि निरन्तर भइरहेका आक्रमण रोक्न र त्यसको क्षमता कमजोर पार्ने उद्देश्यले सैन्य कारबाही गरिएको अमेरिकी पक्षको दाबी छ।

यता इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दक्षिण इरानका विभिन्न शहरहरूमा ठूला विस्फोटका आवाज सुनिएका छन्। त्यससँगै इरानले होर्मुज जलसन्धि तत्कालका लागि बन्द गरिएको घोषणा गरेको छ।

इरानी पक्षले आवश्यक अनुमति नलिई सञ्चालन भएको तथा समुद्री सुरक्षामा खतरा उत्पन्न गराएको भन्दै एक जहाजमाथि प्रहार गरिएको जनाएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले जारी गरेको विज्ञप्तिमा आफ्नो पहिचान प्रणाली बन्द गरी समुद्री सुरक्षामा जोखिम उत्पन्न गर्ने जहाजलाई लक्षित गरी कारबाही गरिएको उल्लेख गरिएको छ।

इरानले अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म होर्मुज जलसन्धि बन्द रहने चेतावनी दिएको छ। साथै, यस घटनाको बहानामा गरिने कुनै पनि सैन्य जवाफी कारबाहीको कडा प्रतिवाद गर्ने पनि उसले स्पष्ट पारेको छ।

यसैबीच, युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले शनिबार ढिलो ओमानको तट नजिकै एक कन्टेनर जहाजमा क्षति पुगेपछि आगलागी भएको जानकारी दिएको छ।

पछिल्ला घटनाक्रमसँगै होर्मुज जलसन्धि क्षेत्रमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय समुद्री व्यापार, ऊर्जा आपूर्ति तथा क्षेत्रीय सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

एजेन्सी