मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

ठमेल पर्यटन विकास परिषदमा राजुमान डङ्गोल समूहको उम्मेदवारी घोषणा, चन्द्रा तामाङ सदस्य पदमा

मंगलबार, असार २३ २०८३

ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्मा राजुमान डङ्गोल समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । परिषद्को आगामी असार २७ गते काठमाडौँको नयाँबजारस्थित मल्टी भेन्युमा हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि डङ्गोल समूहले उम्मेदवारी घोषणा गरेको हो ।

ठमेल पर्यटन विकास परिषद्को एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष भएर काम गरेका डङ्गोल इमान्दार र अनुभवी रहेका छन् । ठमेल क्षेत्रलाई नमुना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने मुख्य एजेण्डासहित अगाडि बढेका डङ्गोलले आफ्नो समूहको प्रथम उपाध्यक्षमा हालका उपाध्यक्ष राजीव पाण्डेलाई अगाडि सारेका छन् ।

यस्तै, द्वितीय उपाध्यक्षमा दावा तामाङ, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी (दिपक), महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल र कोषाध्यक्षमा किन्चुल्हामु भुटिया श्रेष्ठले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

महासचिवका उम्मेदवार कँडेल काठमाडौँ आगन्तुक होटल तथा अतिथी होटल तथा अर्पाटमेन्टका सञ्चालक हुनुहुन्छ । कोषाध्यक्षका उम्मेदवार किन्चुल्हामु भुटिया श्रेष्ठ भने अन्तर्राष्ट्रिय एयरलाइन्सको एयर होस्टेज भएकी युवा नेत्री हुन । उनले ठमेल सञ्चयकोष भवनमा पश्चिमा व्यवसाय तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी छन् । यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, सानुकाजी महर्जन, बालकृष्ण खनाल, रोशन प्रधान श्रेष्ठ, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्ण बहादुर सेढाई र चन्द्रा तामाङ उम्मेदवार हुुन । डङ्गोलले ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन आफ्नो कार्ययोजना अगाडि बढाएका छन् ।

उनले ठमेललाई २४ सै घण्टा सुरक्षित पर्यटन क्षेत्र बनाउन प्रभावकारी समन्वय गर्ने र सरसफाइ तथा सौन्दर्यीकरणमा विशेष जोड दिने, ठमेलको डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, कर, नीति र व्यवसायिक समस्या समाधानका लागि सरकारका तीनै तहसँग समन्वय गर्ने, ठमेललाई सांस्कृतिक पर्यटन केन्द्र’ को रूपमा विकास गरी नेवारी कला र संस्कृतिको प्रवद्र्धन गर्ने बताए ।यसैगरी, पर्यटकका लागि डिजिटल नक्सा, होटल र रेस्टुरेन्टको जानकारी उपलब्ध हुने प्रणाली विकास गर्ने, ‘हरित ठमेल’ अभियानमार्फत वातावरण संरक्षण र प्लास्टिक न्यूनीकरण गर्ने, परिषद्का सम्पूर्ण आर्थिक गतिविधि पारदर्शी बनाउने र उत्तरदायी नेतृत्व प्रदान गर्ने बताएका छन् । “मेरो नेतृत्वमा परिषद् केवल एउटा संस्था मात्र नभई सम्पूर्ण व्यवसायी र घरधनीहरूको साझा परिवार हुनेछ, हामी सामूहिक छलफल र सहकार्यका आधारमा ठमेलको प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याउनेछौँ,”– अध्यक्षका उम्मेदवार डङ्गोलले भने । ठमेलका व्यवसायी र घरधनीहरूबीच डङ्गोलको उम्मेदवारीलाई अनुभवी नेतृत्वको रूपमा हेरिएको छ ।

चन्द्रा तामाङको सदस्य पदमा उम्मेदवारी
ठमेल क्षेत्रमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएकी चन्द्रा तामाङले ठमेल पर्यटन विकास परिषद्को सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। उनी राजुमान डङ्गोल समूहबाट सदस्य पदमा चुनावी मैदानमा उत्रिएकी हुन्।

विगत लामो समयदेखि ठमेलमै बसोबास गर्दै व्यवसाय गर्दै आएकी तामाङले ठमेलको पर्यटन व्यवसाय र सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन्। उनका प्रमुख एजेन्डामा ठमेललाई जाममुक्त बनाउने, पर्यटक तथा व्यवसायीका अझ सुरक्षित वातावरण निर्माण गर्ने, ठमेलको अन्तर्राष्ट्रिय ब्रान्डिङलाई अझ प्रभावकारी बनाउने तथा महिला उद्यमीहरूका लागि अझ सुरक्षित र सम्मानजनक व्यवसायिक वातावरण सिर्जना गर्ने रहेका छन्।

त्यसैगरी सम्बन्धित निकायसँग समन्वय गरी स्पा व्यवसायलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने पहल गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेकी छन्।

ठमेल क्षेत्रमा लामो समयदेखि सक्रिय व्यवसायीका रूपमा परिचित तामाङले व्यवसायी, स्थानीय समुदाय र पर्यटकबीच समन्वय गर्दै ठमेलको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।