मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसद अर्जुननरसिंह केसीको माग

सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनबारे तयार पारिएको मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले लिली थापाको संयोजकत्वमा तयार गरिएको मानवअधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो भन्ने प्रश्न उठाए। उनले उक्त प्रतिवेदन रोकिएको विषयमा संसद्ले जानकारी पाउनुपर्ने बताए ।

उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पनि औपचारिक रूपमा सार्वजनिक गरी सांसदहरूलाई उपलब्ध गराउन सरकारसँग माग गरे ।

सांसद केसीले भदौ २४ गते करिब १२ घण्टासम्म नेपाली जनता “अनाथ, राज्यविहीन र टुहुरा” जस्तो अवस्थामा बस्नुपरेको टिप्पणी गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सरकारले स्पष्ट प्रत्याभूति दिनुपर्ने धारणा राखे ।

उनले दुवै प्रतिवेदन लुकाउने, जनतालाई भ्रममा राख्ने तथा छलछाम गर्ने कार्य बन्द गर्न आग्रह गर्दै प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरे ।