काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीश नियुक्ति सिफारिसविरुद्ध परेका रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् ।
सोमबार मल्लले सर्वोच्च अदालत प्रशासनलाई दिउँसो १ बजेसम्म सबै रिट निवेदन दर्ता गरी मंगलबार (जेठ ५ गते) पेशीमा चढाउन निर्देशन दिनइन् ।
प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध दर्ता हुन आएका रिट निवेदनको दरपीठविरुद्ध आदेश जारी गरिएको हो। कामु प्रधानन्यायाधीश मल्लको सचिवालयबाट निर्देशन आएपछि निवेदनहरू दर्ता गरिएको जनाइएको छ।
अब उक्त दरपीठलाई सदर गर्ने वा खारेज गरी रिट दर्ता गर्न आदेश दिने भन्ने विषयमा मंगलबार इजलासमा सुनुवाइ हुने भएको छ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले डा मनाेज कुमार शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो। उक्त सिफारिस वरिष्ठता र स्थापित न्यायिक परम्पराविपरीत भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाललगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।