काठमाडौं । सरकारले देशभरका छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा आवेदन मागेको हो।
मन्त्रालयका अनुसार उपकुलपति छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको जनाएको छ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सरकारले स्वास्थ्य शिक्षा, अनुसन्धान तथा सेवा प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सक्षम तथा अनुभवी नेतृत्व चयन गर्ने उद्देश्यसहित आवेदन प्रक्रिया सुरु गरेको जनाएको छ।
