मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

शनिबार, बैशाख १२ २०८३

काठमाडौँ। बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा नेपाल र बङ्गलादेशबीच सहकार्यका व्यापक सम्भावना रहेको बताउनुभयो । उहाँले दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

रङ्गपुरका अतिरिक्त जिल्ला मजिस्ट्रेट क्रिस्टोफर हिमाल रिचिल, रङ्गपुर मेट्रोपोलिटन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष गुलाम जकारिया, रङ्गपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कार्यवाहक अध्यक्ष मञ्जुर अहमद तथा रङ्गपुर महिला चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजकी अध्यक्ष शाहनाज परविन शाहिनलगायत वक्ताले दुई देशका निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने धारणा राख्नुभएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

वक्ताहरूले नेपाल–बङ्गलादेश आर्थिक साझेदारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उपायबारे विचार आदानप्रदान गरेका थिए ।

कार्यक्रममा रङ्गपुरस्थित उद्योग वाणिज्य सङ्घ, व्यावसायिक संस्था, ट्राभल तथा टुरिज्म क्षेत्रका उद्यमी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।