मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

श्रम मन्त्रालयद्वारा इपिएस परीक्षा पास गरेका युवाको पक्षमा तीन निर्णय

बिहिबार, पुष २४ २०८२

काठमाडौँ । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि विभिन्न कारणले हालसम्म रोजगारीको अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा महत्वपूर्ण निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको इपिएस रोस्टरको सीमित मान्य अवधिका कारण परीक्षा पास गरेका धेरै उम्मेदवार रोजगारीबाट वञ्चित भएको ठहर गर्दै रोस्टरको मान्य अवधि थप गर्न कोरिया सरकारसमक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरेको छ।

त्यसैगरी इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिका माग सम्बोधन गर्न तथा नेपाली कामदारको कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनीतिक पहल गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, इपिएस प्रणालीमार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयमा पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्ने कार्यदल गठन गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यही पुस १८ गतेको मन्त्रिस्तरीय निर्णय कार्यान्वयनमा लैजान पहल भइरहेको छ।