मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जङ्गी अड्डाले जाँचबुझ आयोगलाई पठायो जेनजी आन्दोलनकाे घटना विवरण

सिंहदरबार बचाउन ४६ राउन्ड हवाई फायर गरिएको प्रष्टिकरण

बुधबार, मंसिर १० २०८२

काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाले जेनजी आन्दोलनका घटनासम्बन्धी विवरण छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगलाई उपलब्ध गराएको छ। २३ र २४ भदौमा भएका घटनाहरूको सम्बन्धमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पत्र मार्फत विवरण मागेको थियो। त्यसपछि सैनिक मुख्यालयले सो सम्बन्धी केही जानकारी आयोगलाई पठाएको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ती दिनका घटनाहरूका बारेमा तयार गरिएको विवरण आयोगलाई प्रदान गरिएको हो। तर पठाइएका विवरणका विषयवस्तु सार्वजनिक गरिएको छैन।

यता आयोगले भने आफूहरूले मागेका सबै विवरण प्राप्त नभएको जनाएको छ। आयोगले २३ र २४ भदौका घटनामा खटिएका सैनिक कमाण्डरहरूको विवरणसमेत माग गरेको थियो।

२३ भदौ दिउँसो १२:३० बजे कफ्र्यू आदेश जारी भएपछि नेपाली सेना परिचालनमा आएको थियो। भदौ २५ देखि २८ बिहानसम्म काठमाडौं उपत्यकामा मात्र ६ हजार र उपत्यका बाहिर गरी १८ हजार सैनिक परिचालन गरिएको थियो।

सिंहदरबारलगायतका महत्त्वपूर्ण संरचनामा आगजनी हुन पुगेको घटनामा सेनाको भूमिकाबारे प्रश्न उठ्दै आएको छ। सेनाको भनाइअनुसार अराजक भिड नहटेपछि न्यूनतम शक्ति प्रयोग गर्नुपरेको र नियन्त्रणका क्रममा अनियन्त्रित अवस्था सिर्जना भएको हो। सिंहदरबार बचाउन सेनाले अत्यधिक संयमता अपनाएको र ४६ राउन्ड हवाई फायर गरिएको प्रष्टिकरण यसअघि नै दिएको छ।