काठमाडौं । प्रहरीले आजदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलमा टिकट नभएका खेलप्रेमीलाई टियु क्रिकेट मैदान वरपर भिड नगर्न अनुरोध गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उद्घाटन खेलका सम्पूर्ण टिकट बिक्री भइसकेका छन्। प्रहरीले टिकट नलिएका खेलप्रेमीहरूलाई मैदान वरपर जमघट नगरी आफ्नो अनुकूल स्थानमै रहेर खेल हेर्न तथा सुरक्षा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।
एनपीएलको दोस्रो संस्करण आज मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजे प्रतिस्पर्धा हुनेछ।