काठमाडौँ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्।
बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन सम्पन्न भइसकेको यो चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले जानकारी दिएका छन्।
उनी भन्छन्, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई अवसर दिनुपर्छ भन्ने सोच राखेर मैले सधैं प्रतिभाशाली नव कलाकारलाई प्राथमिकता दिने गरेको छु। यसपटक बेलायतमा बसोबास गर्दै आएकी सोल गुरुङले शीर्ष भूमिकामा अभिनय गरेकी छन्। चलचित्रमा उनको पात्रको नाम सुम्निमा हो, त्यसैले चलचित्रको नाम पनि यही राखिएको हो।”
निर्देशक चाम्सका अनुसार ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिसँग सम्बन्धित नभई एक विशुद्ध प्रेमकथामा आधारित चलचित्र हो। चलचित्रमा सोल गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायत कलाकारहरूको अभिनय रहनेछ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजार लक्षित गर्दै तयार पारिने निर्देशक चाम्सले बताएका छन्।
उनका शब्दमा, “हामीले बजार विस्तार र दर्शक वृद्धिको सोचका साथ चलचित्र निर्माण गर्नुपर्छ। बजार र दर्शक बढाउने गरी काम गरे मात्रै आगामी दिन चलचित्र क्षेत्रका लागि सुनौला हुनेछन्।”
यसअघि निर्देशक चाम्सले निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतको एक चलचित्र भवनमा ‘आइम्याक्स’ प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो – जुन प्रविधिमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बनेको थियो।
त्यस्तै, उहाँको पछिल्लो सफल निर्देशन ‘अञ्जिला’ महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेको थियो।