मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अनावश्यक अफवाह विरुद्ध प्रभु बैंककाे स्पष्टिकरण, सिआईबीद्वारा सामान्य सोधपुछ

बैंक भन्छ- सोधपुछ सामान्य मात्र हो, अन्य त्यस्तो केही कारण छैन

शनिबार, कार्तिक २२ २०८२

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेपछि केही अनलाइन सञ्चार माध्यमहरूले प्रभु बैंकविरुद्ध भ्रामक समाचारहरू प्रकाशन गरेको प्रति बैंकले स्पष्टिकरण दिएको छ।

बैंक स्रोतका अनुसार, भट्टचनलाई प्रभु म्यानेजमेन्टसँग सम्बन्धित मुद्दामा सिआईबीले पक्राउ गरेको सत्य हो र उनी केही दिन भित्रै कानुनी प्रक्रिया पुरा गरी थुनामुक्त हुने छन्। तर केही सञ्चार माध्यमहरूले प्रभु बैंक र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग जोडेर कपोलकल्पित र भ्रामक समाचार प्रसारण गरेकोमा कुनै सत्यता नरहेको बैंकले बताएको छ।

बैंकले थप भन्यो, “सिआईबीले केही कर्मचारीसँग सामान्य सोधपुछ गरेको हो, तर कुनै बाह्य दबाब वा हस्तक्षेप बैंकमा भएको होइन। प्रभु बैंक सधैं आफ्ना शेयरधनी, बचतकर्ता, कर्जाग्राही, सुभचिन्तक र कर्मचारीप्रति जिम्मेवार रहेको छ।”

बैंकले प्रष्ट पारेको छ कि प्रमुख कार्यकारी अधिकृत शेरचन २४ सै घण्टा बैंकमा उपस्थित हुनुपर्ने सुरक्षा गार्ड जस्तो व्यक्तित्व होइनन्। “उहाँ जहाँ हुनुहुन्छ, बैंकको काममा सक्रिय हुनुहुन्छ। पूर्व अध्यक्षसँग उहाँलाई जोडेर ‘फरार’ भएको जस्ता भ्रम फैलाउनु न्यायोचित होइन,” स्रोतले भने।

प्रभु बैंकले आग्रह गरेको छ कि अनावश्यक अफवाहमा विश्वास नगरियोस् र बैंक सम्बन्धी कुनै पनि जानकारीका लागि सिधै बैंकसँग सम्पर्क गर्न सकिनेछ।