‘सकेको राम्रो गर्छु नराम्रो गर्ने छैन’ पद बहाल गर्नुपूर्व फूली लाएपछि नेपाल प्रहरीका नवनियुक्त महानिरिक्षक (आईजी) चन्द्रकुबेर खापुङले सटिक भनाई राखेका थिए। यसमा दुई अर्थ छन्। यो भनाईमा त्यो ग्राभिटी पनि झल्किन्छ। उनीसँग दुई महिना चानचुन दिन छन्, अहिलेको परिपाटीअनुसार। यो अवधिमा उनले कति परिणाम दिन सक्छन् भन्ने कार्यरेखा कोर्ने या योजना बनाउनमा नै समय बित्नेछ। भनिन्छ नि ‘हनिमुन’ समय पनि पुग्दैन। यस बेलासम्म उनले जति सक्छन्, त्यति राम्रो गर्ने हुन्। अनि, विभिन्न प्रकारका चलखेल गर्नेछैनन्। यसकारण नराम्रो गर्नेछैन भनेका हुन्। तर आईजी खापुङले ब्याचको कान्छा भएर यो कमान्डरको भूमिकामा पुग्ने अवसर कसरी पाए? यसका रोचक घटनाक्रम प्रक्षेपण र अनुमानित पनि छन्।
प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा झन्डै जीवन गुमाएका खापुङ नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका हुन्। बेलाबखत साथीभाइसँग जिस्कँदा उनले भन्ने गरेका थिए, ‘म गोली खाएर बाँचेको हुँ, आइजी हुन्छु।’ संयोग पनि उस्तै भयो, विद्यमान प्रहरी नियमावलीअनुसार दुई महिना नौ दिन ७९ हजार प्रहरीको कमान्ड गर्ने अवसर उनले पाएका छन्। सिन्धुपाल्चोकको मांखा डाँडामा २०५६ सालको मंसिरमा प्रहरीले सञ्चालन गरेको कडन एन्ड सर्च अपरेसनमा उनी घाइते भएका थिए। अप्रेसन टोलीको कमान्डर पनि उनै थिए।
खापुङले २०५१ सालमै खुलेको विज्ञापनमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा प्रतिस्पर्धा गरेका थिए। एउटै विज्ञापनमा प्रतिस्पर्धा गरेकामध्ये पहिलो लटका वसन्तबहादुर कुँवरसहित २०५१ चैत ५ गते भर्ना भए। यो लटबाट कुँवर आइजिपी बने। त्यसपछि वैकल्पिक सूचीमा रहेका दीपक थापा, टेकबहादुर तामाङसहित २०५२ भदौ १९ गते नियुक्त भए। यो टोलीबाट थापा आइजिपी बने। त्यसको अढाइ महिनापछि २०५२ कात्तिक २७ गते खापुङसँगै लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल नियुक्त भए।
धेरैभन्दा पनि सकेको राम्रो गर्ने अवसरचाहिँ आईजी खापुङसँग रहेको छ। उनले के गर्न सक्छन्? नेपाल प्रहरी संगठनमा विश्वास जित्ने कमान्डरहरू प्रायः भ्रष्टाचारविरुद्ध दृढ र स्वच्छ छवि भएका हुन्छन्। कतिपय आईजीहरूले “नो–कमिसन, नो–भ्रष्टाचार’’ अभियान चलाएर संगठनलाई अनुशासनमा ल्याएका छन्। यो पदचापलाई आफ्नो अबधिभरी खापुङले कार्यान्वयनमा लैजान सक्छन्। जसले एउटा नयाँ थिति बस्छ। आईजी प्रहरी कर्मचारीहरुको नेता पनि हो। जब नेता इमान्दार हुन्छन्, मातहतका प्रहरीहरूमा पनि आत्मबल र उत्साह बढ्छ। नेपालमा अपराध नियन्त्रण र विश्वास बढाउन कम्युनिटी पुलिसिङ अभियान प्रभावकारी मानिन्छ। यसमा प्रहरी कर्मचारीलाई खटाउन सक्ने र लय स्थापित गर्ने अवसर खापुङलाई छ। सफल कमान्डरहरूले गाउँ–गाउँमा समुदाय प्रहरी सेवा केन्द्र, विद्यालयस्तरमा सचेतना कार्यक्रम, महिला–बालबालिका सुरक्षा कक्ष स्थापना गरेका छन्। कति परिमाणमा सक्छन् थाहा छैन त्यसमा निम्ति लय स्थापित गर्न सक्ने समयचाहिँ छ। खास विषयचाहिँ आईजी खापुङका लागि कम समय भएकाले राजनीतिक दबाब नमान्न सक्ने र संगठन चलायमान बनाएर उदाहरण देखाउन सक्ने स्वर्णिम काल छ। यो दुई महिना उनका लागि त्यो अवसर पनि हुनेछ।