मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पदमा बसेर धम्की नदेऊ!

सोमबार, असार २ २०८२

जिम्मेवार र शक्तिशाली पदमा बसेर मिडिया सञ्चालक र सम्पादकमाथि धम्की र उजुरी दिनु उपयुक्त काम होइन, लोकतन्त्रमा। पछिल्लो पटक परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले त्यहि काम गरेकी छन्। यो खराब प्रवृत्ति हो। लोकतन्त्र कसैको खप्की र मनोपोली दाइजो जस्तो मान्न हुन्न, यो सबैको बराबरीको अधिकार हो भन्ने मान्नुपर्छ। तर, मिडियाले पनि कसैको चरित्रमाथि प्रश्न उठाउनका लागि पर्याप्त आधार तयार पार्नुपर्छ। यद्यपि, आरजु राणा विविध कारणले यसअघि नै खलनायिका जस्तो चरित्रमा चित्रण भएकी पात्र बनाइसकिएको छ। यो सत्ता समीकरण बन्नु र अघिल्लो गठबन्धन नभत्किँदा पनि नेपाली कांग्रेसकी नेत्री आरजु राणालाई राजनीतिक खलनायिकाका रुपमा चित्रण गरियो। हाल सरकारको परराष्ट्रमन्त्री समेत रहेकी राणा पत्रकार दिलभूषण पाठक प्रकरणसम्म आउँदा अझ निक्कै तेज प्रहारमा परेकी छन्।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भनी राणालाई दोषी देखाउँदै समाचार प्रकाशन भएपछि त उनले सामाजिक सञ्जालमार्फत खण्डन पनि गरेकी छन्। साहित्य, सिनेमा, नाटक र लोककथाहरूमा ‘खलनायिका’ (महिला खलचरित्र) को भूमिका महत्वपूर्ण र बहुआयामिक हुन्छ। खलनायिका भन्नाले त्यस्तो महिला पात्रलाई जनाइन्छ, जसले कथाको नायक वा सकारात्मक पात्रको प्रतिकूलमा काम गर्छिन्। उनी कथाको द्वन्द्व सिर्जना गर्ने, चुनौती दिने, वा कहिलेकाहीँ नायकभन्दा पनि बढी प्रभाव पार्ने पात्र बन्न सक्छिन्। तर खलनायिकाको छविले समयसँगै परिवर्तन पनि भोगेको छ। प्रारम्भिक समयमा खलनायिका सामान्यतया ईष्र्यालु, निर्दयी, चतुर, षड्यन्त्रकारी, वा बदला लिने खालको देखाइन्थिन्। खासगरी हिन्दी वा नेपाली सिनेमामा सासूको भूमिकामा आउने महिला, प्रेमिकालाई दुःख दिने प्रतिस्पर्धी महिला, वा सम्पत्ति हडप्ने लालची स्त्रीहरूलाई खलनायिकाको रूपमा चित्रण गरिन्थ्यो। उनीहरू मुख्यतया नारीत्वको ‘आदर्श’ छविबाट विचलित पात्र हुने गर्थे अर्थात् विद्रोही, आत्मनिर्भर, वा यौनिक रूपमा स्वतन्त्र। तर आधुनिक समयमा खलनायिकाको भूमिका मात्र नकारात्मक छैन; बरु धेरै खलनायिकाहरू सामाजिक संरचना र पितृसत्तावादी मान्यताप्रति प्रश्न उठाउने पात्रका रूपमा पनि देखिएका छन्। उनीहरूका व्यवहारलाई केवल द्वेष, ईष्र्या वा स्वार्थका नजरले मात्र होइन, सामाजिक पृष्ठभूमि र व्यक्तिगत संघर्षका दृष्टिले पनि बुझ्न थालिएको छ।

नेपालको सत्ता राजनीतिमा प्रभावकारी भूमिकामा रहेकी राणाको पहिलो दोषचाहिँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी बन्नु पनि हो। अर्को, कांग्रेसमा उनको प्रभावकारी भूमिका र केन्द्रीय सदस्य रहनु पनि हो। सदनमा पनि उनलाई त्यसरी नै चित्रण गर्ने अनेक प्रयास भए। पहिलो त रास्वपा सभापति रवि लामिछानेले सांकेतिक रुपमा राणाको नकारात्मक चित्रण गरे। राणालाई रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणको मूल अभियुक्तका रुपमा चित्रण गर्न खोजेको थियो। यहाँसम्मकी सदनमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले ‘भाउजू’ भनेर तिखो प्रहार गरेका थिए। राणाले यसको खण्डन गर्न विभिन्न मिडियामा अन्तरवार्ता दिनु परेको थियो। चुनावका बेला एमालेले उनको भाषणलाई लिएर नकारात्मक चर्चा गरेको थियो। उनले डडेल्धुरामा दिएको स्थानीय तहलाई बजेट ल्याउन पनि देउवाले जित्नुपर्ने अडान अनि धनगढीमा फ्रि टिकट, फ्रि भिसाको विषयलाई प्रचार गरियो। यी अवयवमा राख्ने हो भने आरजु पनि एक जिम्मेवार पदमा रहेका कारणले धम्की दिनु उपयुक्त होइन भने खलपात्रका रुपमा चित्रण गरेर स्थापित गराउन खोज्नु पनि जबरजस्तीकरण हुन आउँछ। अतः धम्की नदेऊ अनि नकारात्मक बिम्बमा प्रस्तुत नगर!