नागरिकता बिनै मारवाडीका खाता, ५० प्रतिशत भन्दा बढी व्याज लिएर हुण्डीको साम्राज्य चलाएको खुलासा
काठमाडौं । काठमाडौंको न्युरोडमा कार्यालय रहेको जीवनदीप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छत्रबहादुर बस्नेत फरार भएका छन् ।
सहकारी संस्थामा रहेको बचतकर्ताहरुको करोडौं रुपैंयाँ हिनामिना गरी अध्यक्ष बस्नेत फरार भएको उक्त संस्थाका पीडित बचतकर्ताहरुले बताएका छन्।
सहकारीले अध्यक्ष बस्नेतको निर्देशनमा नेपाली नागरिकता नैं नभएका न्युरोड क्षेत्रमा व्यापारीहरुलाई ऋण दिएको थियो। अहिले उक्त ऋण उठ्ने अवस्था छैन। अध्यक्ष बस्नेतसंगको मिलेमतोमा नागरिकता बिनै ऋण लिएका अधिकांश व्यक्तिहरु अहिले फरार रहेका छन् । ति व्यक्तिहरुले ठुलो परिमाणमा ऋण उपयोग गरेको पीडितहरुको भनाई छ ।
पीडितहरुका अनुसार अध्यक्ष वस्नेतको आडमा ओम अग्रवाल, आशिष अग्रवाल, आनन्द अग्रवाल समेतले ठुलो अबैध रकम जम्मा गरी धन्दा चलाएका छन्। ति व्यक्तिहरुले हुण्डी, तस्करी लगायतका गैरकानुनीरुपमा आर्जन गरेको सम्पतीलाई लुकाउन र सेतो बनाउनको लागि जीवनदिप सहकारीमा रकम राख्ने गर्थे अर्थात अर्को अर्थमा जीवनदिप सहकारीमा कालोधन लुकाउने गरीरहेका थिए।
अध्यक्ष बस्नेतले न्युरोडका तिनै व्यापारीहरुसंग मिलेर सहकारीमा जम्मा भएको बचतकर्ताहरुको रकमलाई ५० प्रतिशतसम्म व्याज लिएर हुण्डी कारोबार सञ्चालन गर्दै आएका थिए । पछि अध्यक्ष बस्नेतको यस्तो रवैयाको जानकारी बचतकर्ताहरुले पाएपछि बचतकर्ताहरु दिनहुँजसो आफ्नो बचत रकम फिर्ता माग्न उक्त सहकारी जाने गरेका छन्।
तर अध्यक्ष बस्नेत भने बचतकर्ताहरुको करोडौं रुपैंयाँ डुवाएर फरार भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मधुसुदन पुण्य ढकाल पनि अध्यक्ष बस्नेत कै मतियार बनेर सर्वसाधारणको बचत रकम हिनामिना गर्ने कार्यमा संलग्न रहेको आरोप पनि पीडितहरुले लगाएका छन् । यसको बारेमा अझै धेरै सत्यतथ्य कुरा खोज्ने क्रममा हाम्रो समाचार टिम लागिरहेको छ।