मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

निक्षेपको संख्या झण्डै ६ करोड, कर्जा खाताको संख्या कति ?

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौंं  । नेपाली बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या झण्डै छ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५४ वटा संस्थाहरुमा कुल पाँच करोड ४४ लाख सात सय २० वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका हुन । गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका कुल ५५ वटा संस्थाहरुमा चार करोड ९२ लाख पाँच हजार पाँच सय १४ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका थिए ।

राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्ममा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने १८ लाख ७६ हजार चार सय ७३ वटा पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो खाता संख्या १८ लाख ५४ हजार चार सय ९८ वटा रहेको थियो । चालु आवको फागुन मसान्तसम्ममा बाँणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या चार करोड ६६ लाख सात हजार छ सय ७३ वटा रहेको छ भने कुल कर्जा खाताको संख्या १५ लाख ४६ हजार दुई सय ७७ वटा रहेको थियो । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंकहरुमा कुल चार करोड २३ लाख ६० हजार एक सय ६५ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या १५ लाख २८ हजार एक सय ७२ वटा रहेको थियो ।

बिकास बैंकहरुमा भने चालु आवको पछिल्लो आठ महिनाको अवधिमा कुल ६९ लाख ३१ हजार आठ सय ८६ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् । यस अवधिमा बिकास बैकहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने दुई लाख ८७ हजार सात सय २९ वटा रहेको छ । गत आवको सोही अवधिमा भने बिकास बैंकहरुमा कुल ६० लाख ९७ हजार तीन सय ५० वटा निक्षेप खाताहरु सञ्चालनमा रहँदा कुल कर्जा खाताको संख्या दुई लाख ८४ हजार सात सय ६४ वटा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनामा फाईनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या भने आठ लाख ५१ हजार एक सय ६१ वटा रहेको छ । यस अवधिमा फाईनान्स कम्पनीहरुमा कुल ४२ हजार चार सय ६७ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका थिए । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुमा कुल सात लाख ४७ हजार नौं सय ९९ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने ४१ हजार छ सय ६२ वटा रहेको थियो ।