मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नु अनिवार्यता थियो : मन्त्री गिरी

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अनिवार्यता रहेको बताएका छन।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् । उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे ।

मन्त्री गिरीले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद् बैठक रोक्नुपर्ने कारण नभएको बताए । उनले संसदभित्रको समस्याहरूलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्‍याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे ।

मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि मंगलवार बस्ने पनि बताए ।