काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ ।
दुई देश बीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।
नेपालको बिजुली भारतीय प्रसारण लाईन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरि आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।
तत्कालका लागि भारतको सिलगुडी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने बंगलादेश र नेपाली पक्षको प्रस्ताव छ ।
दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौमा नेपाल र बंगलादेश बीच भएको थियो ।
२०७५ कै साउन महिनामा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो ।
एमओयूपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन बंगलादेश गएका थिए । त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ ।