काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साथै उनीहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।
सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित भएको स्रोतले बतायो ।
६ चैतमा प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । जसमा ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुबाट परेको छ ।
सभामुखको तजबिजी अधिकार कटौती प्रस्तावमा सत्तापक्ष र विपक्ष विभाजित भएका छन् ।
सत्तारूढ दलका सांसदले सभामुखको तजबिजी अधिकार कटौतीको प्रस्ताव गरेका छन् भने एमालेका सांसदले यसलाई अव्यावहारिक भनेका छन् । सबै काम कार्यव्यवस्था परामर्श समितिबाट गराउने विषय अव्यावहारिक हुने एमालेको भनाइ छ । सत्तारूढ कांग्रेस, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीका सांसदले राखेको संशोधनमा सभामुखले तजबिजी अधिकार प्रयोग गर्दै आएका सबै कार्य कार्यव्यवस्था समितिबाट स्वीकृत गराएर मात्र हुनुपर्ने प्रस्ताव गरिएको छ ।
सभामुखले समय कटाएर अधिवेशन सक्ने र महत्वपूर्ण विधेयक रोक्ने नियत राख्नसक्ने सत्ता पक्षको आरोप छ ।