बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

क्रिकेट हेर्न प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति को-को पुगे त्रिवि मैदानमा ?

बिहिबार, चैत्र २ २०७९

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाल र पाहुना टोली यूएईबीच भइरहेको हो ।

लिगको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारका उच्च ओहोदाका व्यक्तित्वहरु क्रिकेट मैदानमा पुगेका छन् । उनीसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री अमनलाल मोदी, कांग्रेस नेता नैनसिंह महर, भरतपुर महानगरकी मेयर तथा प्रचण्ड पुत्रि रेणु दाहालसहितका विशिष्ट व्यक्ति पनि खेल हेर्न क्रिकेट मैदानमा पुगेका हुन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ट्वीट गर्दै नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

उक्त खेल हेर्न दर्शक भरिभराउ छन् । लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ।

यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।