काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सात बर्षे लामो कार्यकाल आइतबार रातिबाट सकिएको छ ।
कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाड्नेछिन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित हुनुभएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोर्याएर निर्वाचित भएकी थिइन् । पहिलो पटक २०७२ साल कात्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।
दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको थियो भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन् ।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हो भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो र एक्ली नेपाली महिला पनि हो । नौ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हो ।
भण्डारी नै आफनो सात बर्षे लामो कार्यकाल सकेर आज शितल निवासबाट बिदा हुन लागेकी हुन् ।
राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ। शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा रहनेछिन् ।
राष्ट्रपति भण्डारीले आइतबार आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी थिइन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेकी थिइन् ।
भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन् ।