काठमाडौं – संखुवासभाको भोटखोला गाउँपालिका–५ तुम्खानी बस्ने रस बहादुर राईको घरमा ग्याँसमा बालेको आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामान जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिम बस्ने अजिर तामाङको घरमा सोमबार साँझ आगलागी हुँदा घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका सामान गरी करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–१ साठिमुरेस्थित जंगलमा लागेको आगो सल्किएर सोही ठाउँ बस्ने बसन्त कुमार चाम्लिङ राई र उनको छोरा छत्र बहादुर चाम्लिङ राईको घरमा समेत सोमबार दिउँसो आगलागी हुँदा दुबैको घर र घरमा रहेको सरसामान जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–५ स्थित औरही नगरपालिका–९ बस्ने ३२ वर्षीय संजिब कुमार ठाकुरको मोटरसाईकल वर्कसपमा सोमबार राति आगलागी हुँदा मर्मतका लागि राखिएको ६ वटा मोटरसाइकल, १ वटा स्कुटर र मोटरसाईकलको पार्टपुर्जालगायतका सामानहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।